अपाङ्गतासम्बन्धी सम्मेलनमा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि अझ बढी अवसरहरूको आह्वान

Jul 02, 2018
संयुक्त प्रेस विज्ञप्ति

काठमाडौं, २०७५ असार १८ नेपाल सरकारका साथै अपाङ्गता भएका व्यक्तिहरूका संस्था, संयुक्त अधिराज्य सरकार र यूनिसेफले अपाङ्गता भएका व्यक्ति र बालबालिकाहरूलाई उनीहरूको पूर्ण क्षमतासम्म पुग्न अझ बढी अवसरहरू प्रदान गर्न आह्वान गरेका छन् । यो आह्वान आज काठमाडौंमा आयोजित “नेपालमा अपाङ्गता: समावेशी समाजका लागि सहकार्य” विषयक सम्मेलनका क्रममा संयुक्त रुपमा गरिएको हो ।

सो अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थम माया थापाले भन्नुभयो, “नेपालको संविधानले स्पष्ट रुपमा अपाङ्गताका आधारमा हुने सबै प्रकारका भेदभावलाई प्रतिबन्धित गर्नुका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य सेवा, शिक्षा, सामाजिक सहायता र रोजगारीसहित आधारभूत सेवा तथा अधिकारमा समान पहुँचको व्यवस्था गरेको छ ।”

“अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ ले अपाङ्गताप्रतिको कल्याणकारी अवधारणाबाट अधिकारमा आधारित अवधारणातर्फको मार्ग प्रष्ट गरेको छ । यो अपाङ्गता भएका व्यक्तिहरू पनि समाजका सक्रिय सदस्यहरू हुन् र सही अवसर प्रदान गरिएमा उनीहरूले समाजको उन्नतिका लागि उल्लेखनीय योगदान पुर्याउन सक्छन् भन्ने कुराको मान्यता हो ।”

यो सम्मेलन विश्वव्यापी रुपमा सञ्चालित अभियानको एउटा अंश हो र यसको वश्वव्यापी समापन लण्डनमा यही २४ जुलाईका दिन हुनेछ जहाँ संयुक्त अधिराज्य सरकारले इन्टरनेसनल डिसएबिलिटी अलायन्स् (आइडीए) र केन्या सरकारको सहकार्यमा पहिलो विश्व अपाङ्गता सम्मेलनको आयोजना गर्नेछ ।

“अपाङ्गता भएका व्यक्ति र बालबालिकाहरूले आफ्नो पूर्ण क्षमतासम्म पुग्ने क्रममा धेरै ठूला व्यवधानहरू र निकृष्ट प्रकृतिको भेदभावको सामना गर्छन् । लण्डनमा हुन गइरहेको सम्मेलनले अपाङ्गतासम्बन्धमा विश्वव्यापी ध्यान र केन्द्रविन्दु आकृष्ट गर्ने, अपाङ्गताप्रति नयाँ विश्व्यापी र राष्ट्रिय प्रतिबद्धता परिचालित गर्ने र विश्वभरीका उत्कृष्ट अभ्यास र प्रमाण प्रदर्शन गर्ने अपेक्षा गरिएको छ,” नेपालस्थित संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (डिएफआइडी)का प्रमुख डा रुरिक मार्सडेनले भन्नुभयो । “त्यही सम्मेलनतर्फको यात्राका क्रममा नेपालमा भएको यो सम्मेलनले देशको विकास एजेण्डामा अपाङ्गता भएका व्यक्ति र बालबालिकाको समावेशीकरणका लागि नवीन राष्ट्रिय संवादको थालनी गर्ने उद्देश्यका साथ नेपाल सरकार, विकास साझेदार, नागरिक समाजका संघसंस्था र सरोकारवालाहरूलाई एकसाथ ल्याउने काम गरेको छ ।”

वि.सं. २०६८ मा भएको जनगणना अनुसार नेपालमा करिव पाँच लाख व्यक्ति (जनसङ्ख्याको १.९४ प्रतिशत)मा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । विज्ञहरू भने नेपालमा अपाङ्गताको वास्तविक दर त्यो भन्दा बढी हुनसक्ने दावी गर्छन् ।

“यो सम्मेलन विद्यमान तथ्याङ्ग तथा प्रमाण र अपाङ्गता भएका व्यक्ति र बालबालिकाले गरेका र उनीहरूका लागि भएका प्रयासहरूमा आधारित छ,” यूनिसेफका लागि नेपालस्थिति प्रतिनिधि टोमो होजुमीले भन्नुभयो । “यो सम्मेलनले नेपालमा अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाईलाई थप सुदृढ बनाउन र त्यसलाई एकल तथा पृथक मुद्दाका रुपमा नभई नेपालको विकासका सबै क्षेत्र र पक्षको अभिन्न अंशका रुपमा सम्बोधन गर्ने प्रतिबद्धतालाई बढाउन योगदान पुर्याउने हामीले आशा लिएका छौं ।”

सम्मेलनमा नेपालमा अपाङ्गता बारे कार्यपत्र प्रस्तुति र विषयविज्ञहरूको समूह छलफल हुनुका साथै अपाङ्गता भएका व्यक्तिहरूको अनुभव र चुनौतीहरूको आदानप्रदान र नेपालमा अपाङ्गतासमावेशी विकासप्रति सरोकारवालाहरूको प्रतिबद्धतालगायतका विषयहरू समावेश छन् ।


थप जानकारीका लागि, सम्पर्क:

उत्सव शाक्य, कम्यूनिकेसन एण्ड कर्पोरेट डेलिभरी अफिसर, डिएफआइडी नेपाल, u-shakya@dfid.gov.uk

शर्मिना मानन्धर, कम्यूनिकेसन अफिसर, यूनिसेफ नेपाल, ९८०१००७९२२, smanandhar@unicef.org


Related Articles

Find More